डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाइ तत्काल कारवाही होस : प्रदीप पौडेल



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले अस्पतालमा कार्यरत डाक्टर, चिकित्सक लगायतका स्वास्थ्य सेवा कर्मी माथि पछिल्लो समय भएका शृङ्खलाबद्ध आक्रमणका घटनाप्रति खेद प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रीया दिदै नेता पौडेलले डाक्टर, चिकित्सक लगायतका स्वास्थ्यकर्मीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु दुःखद र खेदपुर्ण भएको बताएका हुन् ।

पौडेलले भनेका छन्,’एक त खर्चिलो शिक्षा प्रणालीका कारण महँगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने अवस्था छ भने राज्यले स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधा दिन नसक्दा दक्ष जनशक्ति देश छोडेर जाने कहालीलाग्दो स्थिति छ । अर्कोतिर, उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि भएका यस्ता घटनाले सम्पूर्ण स्वास्थ्य सेवा कर्मीको मनोबल कमजोर हुँदै गएको छ ।’

सिङ्गो स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भएको र मानवाधिकार, शान्ति सुरक्षा, लगायतका विषयमा गम्भीर प्रश्न उठेको भन्दै उनले निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारवाही गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  १२ : ४१ बजे