काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीको सरकारले उद्धार गरेको छ ।मंगलबार परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको तेलअभिभबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिएका छन् ।
उनले भने,‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ।’ परराष्ट्र मन्त्रालयले स्थानीय समय अनुसार तेलअभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक स्वदेश फर्कने जानकारी दिएको हो । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित नेपाली राजदूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने बताए ।
नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलालीसम्म पुर्याउने भएको छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।














