काठमाडौँ, २ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गनेृ भएका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
मन्त्री शर्माका अनुसार अन्तर्राष्ट्रियस्तरको बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । बङ्गलादेशको ढाकामा यही कात्तिक ११ देखि १३ गतेसम्म हुने निर्वाचनसम्बन्धी सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गरिएको छ ।














