दशैंको सुरक्षा व्यवस्थाका लागि पचास हजार प्रहरी तैनाथ, घर फर्किन यातायातको चुस्त व्यवस्था रहेको दावी



काठमाडौं । नवरात्रको छैटौंदिनसम्म आईपुग्दा दशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन् । शहरका सबैनाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी शहर विस्तारै सुनसान हुँदैगएको देखिन्छ।

अध्ययन, रोजगारी र अन्य कामले उपत्यकामा बसोबास गर्दै आएका मानिसहरु नेपालीहरु मुख्य पर्व दशैँमा आफ्नो जन्मस्थल फर्किने परम्परा रहेको छ। काठमाडौं छाड्ने मानिसहरुको चाप बढेकाले दैनिक झण्डै दुई सय ५० देखि तीन सय सवारी साधन सञ्चालन भईरहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए। सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दशैं मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेको बताए।

यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेको गुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे।

उनले भने,‘हामी व्यवस्थापन गर्दैछौँ। यात्रुहरू पठाउँदै छौं। टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँ पाउँदैन। अगाडि नै टिकट बुक गरिसकेका हुन्छन्। सडकको क्लियर कुरा नभएको कारणले क्युमा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खुल्ला गरिएको छ’ उनले भने।

त्यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचना सार्वजनिक गर्नु मुख्य भूमिका रहेका बताएका छन् ।

उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो। लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ। जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं। यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ।’

ठूला पर्व दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए।

प्रकाशित मिति : कार्तिक ३, २०८० शुक्रबार  ४ : ०२ बजे