बैंकको ऋण लिएर खाने र १० ठाउँमा लगाउनेले ऋण तिर्दिन भन्न मिल्दैनः अर्थमन्त्री महत



मंसिर ६, काठमाडौं ।अर्थमन्त्री डा।प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । बुधवार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने जिकर गरे ।

उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन भन्ने प्रवृति गलत भएको बताए । महतले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने उल्लेख गरे। महतले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि राज्यले सहजिकरण गर्न तयार रहेको बताए । उनले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए ।

उनले कोभिड महामारी,भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए । उनले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए । उनले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए । उनले बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको उल्लेख गरे ।

उनले भने,‘बीपी कोईरालाले भन्नुभएको थियो । जब सत्यको मुख बन्द हुन्छ त्यसपछि झुटोको थुतुनो चल्छ । थुतुनो चलाउनेसँग किन बोल्ने भनेर चुप बस्यो भने बोल्नेको सामराज्य चल्छ । बोल्ने मान्छेको कुरा सत्य रहेछ भनेर मानिसहरु पछि लाग्छन् । हामीले सत्य बोल्न छाड्नु भएन । सत्यको मुख खोल्न थालेपछि झुटो थुतुनु बन्द हुन्छ । झुटहरुको मुख बन्द गर्न जरुरी छ । जुन संघर्ष,मेहनत र योगदानबाट लोकतन्त्र स्थापना गरेका छौं । हिजोको समय सुनौलो युग थियो भन्नु गलत हो । त्यो बेला आधा मानिसहरु खाली खुट्टा हिँड्ने गर्थे । तर अहिलको व्यवस्थाले धेरै परिवर्तन आएको छ । अझै धेरै गर्नुपर्ने हो तर भएको छैन । अहिलेसम्म भएको उपलब्धि यही लोकतान्त्रिक पद्धतीमार्फत सम्भव छ । आज जुन प्रवृतिले बोलि रहेको छ । यो प्रवृतिले हिजो बोल्न दिएका थिएनन् । अहिलेको व्यवस्थाले बोल्न सबैलाई दियो । अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुन्छ । सफल हुँदैन । आर्थिक विषयलाई पनि यसमा जोड्ने गरिएको छ । अहिले विश्व अर्थतन्त्रमा नै सिथिलता आएको छ । नेपालको अर्थतन्त्र कोभिडबाट प्रभावित भयो । महाभूकम्पको असर भोग्यौं । त्यसका बाबजुत अहिले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको छ । रेमिट्यान्स आइरहेको छ । अहिले नेपालमा पर्यटनहरु सबै भन्दा धेरै आएका छन् । अझ आउने क्रम जारी छ । देशका ठूला सडकमा मात्रै लगानी गर्न सक्यौं भने पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्छ । बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा,शेयर र क्रिप्टोमा पनि लगानी गरे भन्ने आएको छ । त्यसको अनुसन्धान भइरहेको छ । लगानी गरेको ठाउँबाट प्रतिफल आएन । पैसाको कारोबार नहुँदा बैंकको ऋण तिर्न नसक्दा अन्योल सिर्जना भएको छ । जसले सबै भन्दा ठूलो ऋण लिएको छ । उसैले तिरदिन भनेर हिँडिरहेको छ । ऋण लिन तिरदिन भन्ने रु तर जसले ऋण लिएर गर्दागर्दै पनि समस्यामा परेका छन् ।त्यसलाई राज्यले हेर्छ । तर ऋण लिएर १० ठाउँमा लगाउने ऋण तिरदिन भन्ने हुँदैन ।’

उनले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले लामो संघर्ष,मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताए । उनले बोल्नेहरुले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलको व्यवस्थाले धेरै परिर्वतन आएको दाबि गरे । उनले लोकतान्त्रिक पद्धतीमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताए । उनले अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताउनु भयो ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ७ : ५२ बजे