मानव अधिकार आयोगले भन्यो – दुर्गा प्रसाईंको समुहले सुरक्षा घेरा तोड्न खोज्दा बल्खुमा झडप



राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ भने दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा भएको प्रदर्शनमा प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको बताएको छ ।

आयोगले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भनिने समुहले आज काठमाडौंमा आयोजित प्रदर्शनको अनुगमन गरेको हो ।

आयोगका सदस्य नेतृत्व सहितका चार वटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको आयोगले आज जारि गरेको विज्ञप्तिमा बताइएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुंगा र इट्टा प्रहार भएको आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनीएको छ, “बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ ।”

‘प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरुमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रुपमा पेशा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको देखिएको आयोगको निष्कर्ष छ ।

प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार  ५ : ४४ बजे