काठमाडौं स् मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा भएको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते भएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवै पक्षका गरी १४ जना घाइते भएको राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डाक्टर टिकाराम पोखरेलले जानकारी दिए।
उनका अनुसार घाइतेहरूको पुरा विवरण भने आइसकेको छैन। प्रसाईं र युवा संघ दुवै पक्षको प्रदर्शनमा स्थलगत अनुगमन गरेको आयोगको टोलीले युवा संघले तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिए पनि बल्खुमा प्रसाईं पक्षले गरेको प्रदर्शनमा तनावपूर्ण स्थिति निम्तिएको सहसचिव पोखरेलले बताए।
आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन पनि सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।
नेकपा ९एमाले०को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज काठमाडौँमा आयोजित प्रदर्शनकोे दिनभर अनुगमन गरेपछि जारी विज्ञप्तिमा त्यस्तो आग्रह गरिएको हो ।
अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवासङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवासङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएका जनाइएको छ ।
प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको, उक्त क्षेत्रका पसल बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र एवं सुरक्षितरूपमा आवतजावत गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले बताएको छ ।














