मंसिर ८,काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताए । उनले वार्षिक रुपमा रगतको माग गर्नेको संख्या साढे ४ लाख रहेको बताए । काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौंमा १ लाख ३० हजार टनको आवश्यकता रहेको उनले जानकारि दिए ।
उनले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताए ।उनले देशमा चाहिने मात्राअनुसारको रक्तदाताको संख्यामा कमी रहेको भन्दै युवा र महिलाहरुलाई यसबारे सचेत बनाउनसके रक्तदाताहरु बढ्ने यल्लेख गरे । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०।९ प्रतिशत मात्रै पुगेको बताए ।
उनले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताउदै उनले भने, ‘अहिले देशभरको तथ्यांक हेर्दा गत दुई, तीन वर्षको १२ सय युनिट दैनिक माग भएको छ । त्यो भनेको साढे ४ लाख जति वार्षिक युनिटको माग छ । सामान्य अवस्थामा । काठमाडौं उपत्यकाको कुरा गर्दा दैनिक ३५० युनिटको माग छ । वार्षिक रुपले १ लाख ३० हजार सप्लाइ गर्नुपर्ने अवस्था छ । जति माग छ, त्यसको ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गरेका छौँ । बाँकी १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर डोनेशन गर्नुपर्ने अवस्था छ । देशमा चाहिने मात्राअनुसारको डोनरको संख्या नपुगेको हुनाले १५ प्रतिशत जति ग्याप भएको देखिन्छ । त्यसमा पनि १८ प्रतिशत जति मात्रै महिलाको संख्या छ । युवाको संख्या असाध्यै राम्रो छ । युवाहरुलाई अझै बढाउन सकियो भने र महिलामा बढी चेतना बढाउन सके राम्रो हुनेछ । यो समन्वय, चेतना र सहकार्यसँग सम्बन्धित छ । पर्याप्त संख्यामा डोनरहरु अझै पुग्नुभएको छैन । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्छ, ०।९ मा पुगेका छौँ । गुणस्तरसँग सम्बन्धित चुनौति पनि छ । प्रविधिले फड्को मारिसक्यो तर हामीले फड्को मारेअनुसारको उच्चतम प्रविधिको प्रयोग केही स्थानमा मात्रै प्रयोग गरेका छौँ, नत्र पुरानै प्रविधि छ, जनशक्तिको प्रयोग पर्याप्त छैन । सरकारले ठूलो संख्यामा लगानी गर्नुपर्नेछ । त्यसले पूर्वाधारको विकास राम्रो हुनेछ । इमर्जेन्सी स्टक हामीले बढी भन्दा बढी विचार गरिरहेका छौँ । न्युनतम मौज्दात रक्तसञ्चार केन्द्रमा भयो भने कुनै अफ्ठ्यारो आपत्ति आउँदा शुन्यबाट शुरु गर्नु पर्दैन । वितरणमा असाध्यै ठूलो भुमिका अस्पतालको हो । अस्पतालको पूर्जाअनुसार बिरामीले लिएर जाने हो । अस्पतालमा रगतको प्रयोग कसरी भयो भन्ने ट्रयाकिङ सिस्टम बनाउन जरुरी छ । रक्तसञ्चार सेवा केन्द्रहरुको आपसी समन्वय आवश्यक छ । त्यसले अहिले भएको धेरै समस्या समाधान हुन्छ । पालिकाहरुले पनि यसमा बढी भन्दा बढी क्याम्प सञ्चालन गरेर सहयोग गर्न सक्नुहुनेछ । त्यसमा बढी कार्यक्रम गराउनुपर्छ । सहकार्य र सहयोग बढाउनसके राम्रो हुन्छ ।’
नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘रगत एउटा स्वस्थ मानिसबाट नै प्राप्त हुन्छ । यसको कुनै विकल्प छैन । स्वस्थ रगत दिने व्यक्तिहरुबाट नै स्वस्थ रगतको व्यवस्थापन हुने भएकाले यसको सबैभन्दा महत्वपूर्ण कुरा रक्तदाताहरुलाई मोटिभेसन गर्ने, रगत दिनुपर्छ भनेर नै हो । समुदायमा यो कुरा लैजान अति आवश्यक छ । रक्त दान गर्ने संघ संस्था र व्यक्तिलाई मोटिभेट गर्न आवश्यक छ । अहिले यो अलि कमी भएको हो की भन्ने महशुस भएको छ । रक्तदातालाई बढी मोटिभेसन गर्नसके रगत कलेक्शन हुन्छ । रगतको अभाव भन्नाले सबै रगतको अभाव होइन । ब्लडका विभिन्न ग्रुपमध्ये कुनै एउटा ग्रुपको ब्लड सटेज हुँदा ब्लड सटेज भयो भन्ने म्यासेज जान्छ । ब्लडको कमी नहोस् भनेर हामी लागिरहेका छौँ । मागअनुसारको रगत व्यवस्थापन गर्न सकिन्छ भनेर नै हामी लागिपरेका छौँ । चाडपर्वहरुमा ब्लड सटेज हुन्छ, त्यो बेला दान गर्ने मानिस कम हुन्छन् । तर त्यसको व्यवस्थापन हामीले गरिरहेका छौँ । नेपाल रेडक्रस सोसाइटीले मात्रै यसको चिन्ता गरेर, ब्लडको व्यवस्थापनको जिम्मेवारी पूरा गर्ने भुमिका त हामीले नै खेल्नुपर्छ तर डोनेशनका लागि तयार गर्ने जिम्मेवारी सबैको रहन्छ नै । नेपालमा बसोवास गरिरहको मानिसमध्ये २ प्रतिशत मानिसले डोनेशन गर्ने हो भने कहिल्यै ब्ल्डको सटेज हुँदैन । हामी अब चाँडै नै बढी भन्दा बढी कलेक्शन गरेर यो रगतको व्यवस्थापन गर्नेछौँ, पाइँदैन भन्नेकुराको अन्त्य गर्न लागिरहेका छौँ । काठमाडौं उपत्यकाका लागि हामीले केही ब्लड इमर्जेन्सीका लागि केही ब्लडको व्यवस्थापन गरिरहेका छौँ ।’










