काठमाडौँ । कांग्रेस नेता एबं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट भुकम्प पिडितका लागि १०० अस्थायी आवास निर्माण सम्पन्न गरेको छ । १०० अस्थायी आवास निर्माण सम्पन्न भएको नेता पौडेलले सामाजिक सञ्जालमार्फत जानकारि दिएका हुन् ।
अस्थाई घर-टहरा निर्माणलाई निरन्तरता दिन पार्टीले पुनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको पनि नेता पौडेलले जानकारि दिएका छन् ।
टहरा निर्माण कार्यमा सहयोग गर्ने सबैलाइ आभार व्यक्त गर्दै टहरा निर्माणका लागि पुग्ने पार्टिका सबैलाइ सहयोग गर्न पनि पौडेलले आग्रह गरेका छन्
पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।
यसैबीच पौडेलले पुनर्निर्माणबारे विभिन्न १० बुँदे सुझाव पनि दिएका छन्
१, सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२, भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ९ पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठुलो अभाव रहेको ० सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३, टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४, चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने ।
६, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७, जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९, पुन निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०, गरिबीको रेखा मुनि रहेका नागरिकलाई भइपरी आउने आपत् विपत्मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।














