मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै



धनुषा, १० मङ्सिर।‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

९अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु, यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीहरुले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिदैछ ।

सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् ।

यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । जनकपुरधाम–२ की नितु मिश्रले भनिन्, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।” मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताइन्। उनले सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताइन् ।

समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीहरूले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ’चुगला’ र कुचोको मसाल बनाई गाउँ/टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । “कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ” क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाकी अनिता यादवले भने ।

सामा भनेको दिदीबहिनी तथा चकवा भनेको दाजुभाइलाई बुझाउने गरेको यादवले बताए । यो पर्वमा माटोको समाचकेवाको भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समाचकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको समाजशास्त्री नागेन्द्र दुबेले बताए । दुबेका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत रूपमा अन्त्य गरिन्छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : २९ बजे