भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन



डोल्पा, ५ जेठ । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । डोल्पाका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको निरन्तर खबरदारीका कारण ‘बेलिब्रिज’ सञ्चालनमा ल्याउन सफल भएको प्रजिअ दाहालले बताए ।

“‘बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, गाडी दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खामा यातायात सञ्चालन गर्न भेरी करिडोरबीचका केही खोलाहरुमा ह्युमपाइप राख्न पहल भइरहेको छ”, प्रजिअ दाहालले भने ।

यो करिडोरले भारतको रुपैहिडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा लिइएको छ । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने उनले जानकारी दिए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार  ५ : ५३ बजे