दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा झडप, धर्मगुरु श्रीनिवासहित अन्य पक्राउ



काठमाडौं, ११ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेका थिए । सडकबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार गरिएपछि झडप भएको हो । सभामा प्रसाईं समेत पुगेका थिए ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनमा उत्रिएका धर्मगुरु आचार्य श्रीनिवाससहित १० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा सहभागी भएका धर्मगुरु श्रीनिवासले आक्राम अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएका थिए । प्रहरीले धर्मगुरु श्रीनिवाससहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि दु्र्गा प्रसाईँलाई उनका समर्थकहरुले त्यहाँबाट भगाएका थिए । प्रसाईँले आज बेलुका आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्ने बताइएको छ

यही मंसिर ७ गतेदेखि प्रसाईं काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार  ५ : ३७ बजे