काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद केन्द्रीय सदस्यमा मनोनित भएका छन्। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार सबै सांसदलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको हो। यद्यपि औपचारिक रूपमा बैठक सकिएपछि निर्णय सार्वजनिक गरिने उनले बताए।
सांसदलाई केन्द्रीय सदस्य बनाउँदा कार्यबोझ थपिने भएकाले कामकारबाही प्रभावकारी बन्नेमा शंका व्यक्त गर्दै केही केन्द्रीय सदस्यले प्रश्न पनि उठाएका थिए। तर अन्त्यमा सबै सांसदलाई केन्द्रीय समितिको सदस्य बनाउने शीर्ष नेताहरूबीच सहमति जुटेको थियो।
बैठकमा सांसद डा। स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन नहुने विषयमा पनि बहस भएको थियो। यो विषयमा पनि रास्वपामा दुई खाले मत छ। पार्टी विधानमा २ जना उपसभापति रहने प्रावधान रहेकाले वाग्लेलाई उपसभापति बन्न बाधा नपुग्ने बताइएको छ।
एक जना उपसभापति महिला हुनुपर्ने आवाज उठेपनि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने तयारी गरेका छन्। उपनिर्वाचन अघि नै रविले स्वर्णिमलाई आफूपछिको दोस्रो वरियता दिने विषयमा अनौपचारिक रूपमा सहमति जनाइसकेको चर्चा रास्वपामा छ।
रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि जलेश्वरमा जारी छ। बैठक बुधबार सक्ने तयारी छ।














