मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र



काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ ।

कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागिय प्रमुख राम प्रसाद पौडेलले बताए । केही वडामा जनशक्ति प्राप्ति र औषधी उपकरण खरिदको प्रक्रियामा रहेको बताउँदै पौडेलले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उपचारात्मक र निरोधात्मक सेवाहरु प्रवाह गरिने उल्लेख गरे ।

‘पहिले प्रत्येक वडामा रहेका सामुदायिक शहरी स्वास्थ्य क्लिनिकहरु थिए । ती क्लिकिहरुबाट सामान्य खालका औषधीहरु वितरण हुन्थे ।’ पौडेलले भने , ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुबाट चाँही उपचारात्मक र निरोधात्मक खालका कार्यक्रम हुन्छन् । महानगरभित्र कसैलाई पनि रोग लाग्न नदिन सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्छ ।’काठमाडौं महानगरपालिकाभित्र अस्पताल र मेडिकल कलेजहरु धेरै भएपनि मध्यमवर्गको पहुँच भन्दा बाहिर रहेको हुँदा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्नुपरेको उनको भनाई छ ।

‘काठमाडौं महानगरभित्र ठूला ठूला अस्पतालहरु छन् । तर, ती अस्पतालहरु आधारभूत स्वास्थ्य सेवा दिनुभन्दा पनि गम्भिर रोगको उपचारका लागि हुन् । जहाँ मध्यमवर्गको पहुँच पुग्दैन । सामान्य स्वास्थ्य समस्याहरु जस्तै, ठेस लाग्दा, टाउको दुख्दा पनिा लामो लाइन लागेर पैसा तिर्नुपर्ने हैरानी खेप्नुपरेको छ । त्यो वेथिति अन्त्य गर्न शहरी स्वास्थ्य सेवा केन्द्र स्थापना भएको हो’, उनले भने ।

अहिले स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्र स्थापना नै नभएको अवस्थामा पनि सेवाग्राही बढिरहेको बताउँदै निःशुल्क भएकोले प्रभावकारी हुने विभागीय प्रमुख पौडेलको दाबी छ । ‘यो एकदमै प्रभावकारी हुन्छ । हामी गुणस्तरमा एकदमै ध्यान दिन्छौं । सेवाग्रहीले कुनै सास्ति बेहोर्नुपर्दैन । पैसा पनि तिर्नुपर्दैन,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेका केही वडाहरुमा अनुगमन गर्दा प्रवर्द्धन केन्द्रबाट प्रवाह गरिने सेवा लिने सेवाग्राही भने न्यून भेटिएका छन् । महानगरका वडाहरु क्रमशः १०,२४,२६ र ३० को अनुगमन गर्दा प्रवर्द्धन केन्द्रबाट लिने सेवाग्राहीको संख्या न्यून रहेको पाइएको हो । जनचेतनाको अभाव र आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा सेवा प्रभावकारी हुनेमा आशंका गरिएको छ ।

स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्दा कुनैपनि शुल्क नलाग्ने भएकाले सेवाग्राही बढ्ने र प्रवाकारी हुने दाबी काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राम कुमार केसीले बताए । उनले भने, ‘ गरिब र असहायले आर्थिक अभावका कारण उपचार गर्ने नसक्ने अवस्था आएमा वडामा निवेदन दिएर सिफारिसको आधारमा जस्तोसुकै उपचार सेवा पाउन सक्ने छन् । त्यसैले यो प्रभावकारी हुन्छ भन्नेमा ढुक्क छौं ।’

काठमाडौं महानगरपालिकाले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ भन्ने गौरवको आयोजना अन्तर्गत यसअघि रहेका सामुदायिक स्वास्थ्य क्लिनिकहरुलाई शहरी स्वास्थ्य सेवा प्रवद्र्धन केन्द्रमा रुपान्तरण गर्न लागेको हो । यसका लागि महानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि आन्तरिक स्रोतबाट ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५१ बजे