म्याग्दी – पञ्चकुण्ड ताल जमेपछि पर्यटकको लर्को लागेको छ। चिसोले जमेको ताल हेर्न र तालमाथि साहसिक यात्रा गर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ।
समुद्री सतहदेखि ४ हजार १९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड तालको पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए।
‘हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिँडडुल गर्न सकिने भएको छ,’ उनले भने, ‘पर्यटकहरूले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र साहसिक यात्रा गरेर रमाउन थालेका छन्।’
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ। आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ। हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने गत हप्ता आधार शिविर पुगेर फर्केका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताए।
हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको हो। सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए।
हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भूबनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका यहाँका ज्येष्ठ नागरिक बताउँछन्। तालको परिसरमा हिन्दु धर्मग्रन्थ रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाँडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै २ दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ। निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरी हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने कास्कीका सोमलाल सुवेदीले बताए।
‘वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो छ,’ पूर्वमुख्य सचिव रहेका सुवेदीले भने, ‘तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जोकसैलाई आश्चर्यमा पार्छ।’
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ। हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन्।










