मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुुस्ताङबाट ४९ करोडको स्याउ निकासी



म्याग्दी, २२ मङ्सिर मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ ।

स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।

स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । “मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ”, उनले भने, “करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री गर्न चिस्यान गृहमा राखिएको छ ।” कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु एक सय १० का दरले हिसाब गर्दा रु ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् । धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च हुने गरेको बताए । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उनले बताए ।

बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छन् । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ३१ बजे