मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज



दाङ, २९ मङ्सिर । घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।

जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्र सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको केन्द्रमा तरकारी किनमेलका लागि पुग्नुभएका स्थानीय पद्मा खड्काले बताइन् । उनि हरेक दिन बिहानको समयमा यहीँ नै तरकारी लिन आउने गरेको बताउछिन् ।

“बाहिर तरकारी किनमेल गर्दा महँगो पर्र्ने हुँदा हरेक दिन ताजा तरकारी लिन आउने गरेका छु”, उनले भनिन्, “कृषि उपज केन्द्रले हामीजस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइदिएको छ ।” यहाँ बिचौलिया हाबी हुन नपाउँदा किसानले आफ्नो कृषि वस्तुको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा किनमेल गर्न सकिने हुँदा निकै सहज भएकोे उनको भनाइ छ ।

रोल्पाका किसान धनबहादुर रोकाले अन्त सस्तोमा व्यापारीले खोज्ने हुँदा यहाँ आफूले भनेकै मूल्यमा तरकारी बेच्न पाउने गरेको बताए । रोकाले अहिले घोराही–४ मा तरकारी खेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा रु पाँच–दश बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ । “घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु, ल्याएको जति सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बच्ने गर्दछ”, रोकाले भने ।

सोही ठाउँका हरि खत्री पनि आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताए । ताजा र सुपथ मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी हुने गरेका छन् । उनले व्यावसायिकरूपमा खेती नगरे पनि घरमा खाएर बचेको तरकारी केन्द्रमा बेच्न ल्याएको बताए। कृषि उपज केन्द्रमै भेटिएका घोराही–१८ रानिजरुवाका किसान अमर खत्रीले पनि १२ कठ्ठामा टमाटर खेती गर्दै आएका छन् । आफूले उत्पादन गरेको टमाटर आफ्नै मूल्यमा बेच्न पाउँदा सहज भएको उनले बताए । यसअघि उनले भारतमा पनि टमाटर खेती गरेका थिए ।

घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घर–घरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकामा अहिले भने सहज भएको बताए । यहाँबाट किसानले उत्पादन गरेको कोभी, टमाटर, साग, मुला, दाललगायत विभिन्न कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले पनि ताजा र सुपथ मूल्यमा पाउन सकेका छन् । किसानले आफूले मेहनत गरेर उत्पादन गरेको वस्तुले सहजरूपमा बजार पाएको हुँदा यसमा बिचौलिया हाबी नभएकाले उपभोक्ता पनि ठगिनबाट बचेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ०४ बजे