एनसेल खरिदबिक्री मुद्दामा कारणदेखाउ आदेश जारी



काठमाडौँ– एनसेलको सेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले मंसिर २२ गते दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारणदेखाउ आदेश जारी गरेको हो।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यो मुद्दामा अब पुस १६ गते पेसी तोकिएको छ।

अन्तरिम आदेश जारी गर्नुपर्नेरनपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरणलाई इजलासमा हाजिर हुन समेत अदालतले आदेश दिएको छ।

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा कर छली गरेको भन्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा बिक्री रोक्ने गरी परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेका थिए।

प्रकाशित मिति : पुस ३, २०८० मंगलबार  ६ : ३३ बजे