मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकामा फेरी देखिन थाल्यो कोरोना



बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरी कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरुमा फेरी कोरोना भाइरस देखिन थालेको हो ।

पछिल्लो डेढ सातायता नियमित रुपमा एकदेखि तीन जना सम्ममा दैनिक रुपमा कोराना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतका विभिन्न ठाउँहरुबाट सुदूरपश्चिम प्रवेश गर्नेहरुमध्ये केहीँमा कोभिड संक्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ संक्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परिक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा संक्रमण देखा परेको थियो। अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भईसकेको छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।

यस्तै,आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आइतबार भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको थियो । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियोे ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए। भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ०४ बजे