६१ वटा उद्योगहरुले पैसा तिरेका छैनन्, ९ वटाको लाइन काटियो, बाँकीको काट्दै जान्छौँः कुलमान घिसिङ



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निर्णयबाट काटिएको दाबी गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको बताएका हुन् ।

उनले नेपाल विद्युत प्राधिकरणको एकल निर्णय र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगको लाइन नकाटिएको सपष्ट पार्दै यो विषय अहिले ठूलो विषय बनेको र सामुहिक विषय बनेको बताए।

कार्यकारी निर्देशक घिसिङले उद्योगहरुले रकम भुक्तानी नगरेपछि अब लाइन काट्नुको विकल्प नरोहेको निस्कर्षसहित विद्युत लाइन काटिएको स्पष्ट पार्दैकरिव ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी रहेको बताए । उनले अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरु ९ वटा उद्योगको लाइन काटेको र बाँकीको क्रमशः लाइन काट्दै जाने स्पष्ट पारे ।

उनले भने, ‘अदालतले भनेको छ, क्याबिनेटको बैठकले भनेको छ, विभिन्न जुन सरोकारवाला निकायहरु सबैले भनेपछि विद्युत प्राधिकरण नउठाउने निकाय को हो त रु किन त रु विद्युत प्राधिकरणप्रति गम्भीर प्रश्न छ । जनताको स्तरबाट, राजनीतिक स्तरमा इभन संसदमा तपाईहरुले सुन्नुभयो होला, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्वन तत्काल गर्नुपर्छ भनेर प्रश्न उठेको छ । यति हुँदा पनि विद्युत प्राधिकरण एउटा जिम्मेवार निकाय र प्राधिकरणको कार्यकारी निर्देशक जिम्मेवार पदाधिकारी भएकाले हामीले विवादलाई कसरी सहज रुपमा समाधान गर्न सकिन्छ भनेर धेरै प्रयास गरेका छौँ । हाम्रा प्रयासहरु अब हामीले विद्युत लाइन नकाटीकन सम्भव छैन, भन्ने भएपछि अन्तिम चरणमा आएर उद्योगीहरुको विद्युतको लाइन काट्न बाध्य भएका छौँ, हामीले ९ वटा उद्योगीहरुको विद्युत लाइन काटेका छौँ । करिव ६१ वटा उद्योगीहरुको ट्रंक लाइन र डेडिकेटेड महशुल बाँकी छ । अब क्रमिक रुपले काट्दै जान्छौँ । यो विद्युत प्राधिकरणको कार्यकारी निर्देशक मात्रै होइन, सम्पूर्ण पदाधिकारीहरु, जुनजुन मितिमा निर्णयहरु भएको छ, बोर्डले दुई पटक निर्णय गरिसकेको छ । यो पैसा उठाउनुपर्छ र नउठाएको कर्मचारीलाई कारबाही गर्नुपर्छ भनेर बोर्डले सिफारिस गरेको छ ।’

कार्यकारी निर्देशक घिसिङले ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्नेहरुको लाइन क्रमशः काट्दै जाने चेतावनी दिए ।

प्रकाशित मिति : पुस १२, २०८० बिहीबार  ५ : ०६ बजे