सञ्चार मन्त्रालय मातहतका कार्यालयहरुको कार्यप्रगति न्यून, मन्त्री शर्मा भन्छिन् – कर्मचारी उत्साहीत् परिणाम शुन्य



काठमाडौँ, १३ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकि छन् । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन प्रगति समीक्षाका क्रममा उनले चालु आवको अर्धवार्षिक समीक्षा गर्ने बेला भइसक्दा पनि यस वर्ष कार्यान्वयन गर्नेगरी लक्ष्य राखिएका कार्यक्रमको उपलब्धि कमजोर देखिएको भन्दै कर्मचारी र पदाधिकारीसँग असन्तुष्टी व्यक्त गरिन् ।

मन्त्रालयगत विकास समस्या समाधान समिति बैठक र मन्त्रालयको नियमित आन्तरिक छलफल तथा समीक्षा गर्दा सुधारका प्रतिवद्धता आउने र कर्मचारी उत्साही देखिने भए पनि वास्तविक परिणाम र लक्ष्य प्राप्तिमा भने कमजोर देखिने गरेको मन्त्री शर्माले बताइन् । “अहिलेसम्म केही काम नै नभएको भन्ने होइन, तर अपेक्षाकृत देखिएन । हामी आफैँले तय गरेका कार्यक्रम कार्यान्वयन गरेर सेवा प्रवाहमा कसरी सहजता ल्याउन सकिन्छ भनेर सोच्नुपर्यो”, उनले भनिन्, “अर्को महिना फेरि हामी समीक्षा बैठक बस्दा तपाईहरु कार्यप्रगति रिपोर्टसहित आउनुहोला । अहिलेजस्तो कमजोर प्रस्तुति र प्रगति देखाएर नभइ सफलतासहितको बैठक बस्नुपर्छ ।” 

मन्त्रालय र मातहतका निकायको कार्यप्रगति कमजोर देखिनु भनेको कर्मचारी र पदाधिकारी आफ्नो कामप्रति जिम्मेवार हुन नसकेको बुझ्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । बैठकमा उनले मन्त्रालयले आफैँ प्रस्ताव गरेका योजना र कार्यक्रम पनि किन कार्यान्वयन हुन सकेनन् भन्दै कर्मचारीसँग प्रश्न गरिन् ।

चालु आवका लागि मन्त्रालय र मातहतका निकायले ल्याएका विभिन्न योजना तथा कार्यक्रमको मङ्सिर मसान्तसम्मको प्रगति अवस्था हेर्दा निकै कमजोर देखिएको छ । मन्त्रालयले चालु आवको नीति तथा कार्यक्रममा १० बुँदा, बजेट वक्तव्यमा १३ बुँदा, वर्षभरिमा गर्नुपर्ने ४२ मुख्य क्रियाकलाप, ९३ माइलस्टोन र १७ मुख्य उपलब्धि सूचकको समीक्षा गरेको थियो । चालु आवका लागि गर्नुपर्ने काममध्ये मङ्सिरसम्ममा २६ प्रतिशत समयमै काम सम्पन्न भएको, ५४ प्रतिशत कार्यान्वयनको विभिन्न चरणमा रहेको र १९ प्रतिशत योजना तथा कार्यक्रममा हालसम्म काम सुरु नै हुन नसकेको देखिएको हो ।

चालु आवधिभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएका तथ्याङ्क सुरक्षण नीति (डाटा प्रोटेक्सन पोलिसी) तर्जुमा गर्ने, राष्ट्रिय साइबर ड्रिल खरिद गर्ने, मन्त्रालयअन्तर्गतका मुद्रण विभाग, सुरक्षण मुद्रण केन्द्र, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्रलगायत निकायको पुनःसंरचना गर्नेलगायत कामको प्रगति न्यून छ ।

प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार  ४ : ५८ बजे