काठमाडौँ, १४ पुस । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताइन् ।
शुक्रबार इपीएस भाषा परीक्षामा आवेदन दिन पाउनेरनपाउने विषयलाई लिएर आन्दोलित भएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
घटना हुँदा फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पीएसओलाई निलम्बन गर्ने निर्णय सरकराले यसअघि नै गरेको थियो। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो।
घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।














