काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।
सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ‘आवेदनहरु भेरिफाई गर्ने काम भइरहेको छ । अपुग कागजात भए फेरि माग गर्छौँ । विज्ञ टोलीले मूल्यांकन गरेर सबैभन्दा योग्य व्यक्तिको छनोट हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।
पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।
त्यस्तै, त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएका छन् ।