झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रमम निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभूति हुनेछ । उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । लामो राजनीतिक जीवनमा उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन् ।
यसैबिच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भएपनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको र सो विषयमा आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक मंगलबार विहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।














