मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले बनायो निस्क्रिय, दुईजना पक्राउ



विराटनगर । विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो ।

हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निस्क्रिय बनाएको हो ।

टेपले बाँधिएको प्रेसर कुकरभित्र डेटोनेटर, सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बस्तु राखेर आतंक सिर्जना गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भीमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी छन् ।

उनीहरुले विद्यालयहरुमा धम्की दिएर चन्दा असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । चन्दा दिन आग्रह गर्ने र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाईको डेडकर्ड, १ किलो सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १२ : ३६ बजे