एसीसी वुमन्स प्रिमियर कप :माल्दिभ्सविरुद्ध नेपालको कीर्तिमानी जीत



काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

नेपालले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३.३ ओभरमा मात्र १३ रनमा समेटियो । माल्दिभ्सका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई लज्जास्पद हार चखाउनेक्रममा नेपालका अस्मिना कमचार्य एक्लैले ४ विकेट लिईन् भने पूजा महतो र रुविना बेल्बासे क्षेत्रीले समान ३ विकेट लिईन् । नेपाली टिमको घातक बलिङसामू निरीह देखिएको माल्दिभ्सका ६ जना खेलाडीले कुनैपनि रनको खातानै खोल्न सकेनन् ।

अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए । नेपालले हाँसिल गरेको यो जित हालसम्मकै ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

यसअघि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले शानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा २२७ रन जोड्यो । नेपालका लागि रुविना बेल्बासे क्षेत्रीले शानदार शतक प्रहार गरेकी छन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार  २ : २७ बजे