काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी बैठकमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता पौडेलले तीन नेताहरूले प्रस्तुत गरेका तीनै प्रतिवेदनले समस्या समाधानका लागि ठोस उपाय प्रस्ताव नगरेको उल्लेख गरे।
बिहीबार केन्द्रीय समितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए।
‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ। समस्या बुझेको देखिन्छ। केही समाधानबारेमा गगनजीले समेट्नु भएको छ। तर, पूर्ण हुन सकेन। कुनैपनि दस्तावेजमा समाधान गर्ने गरी आएनन्,’ पार्टी बैठकमा पौडेलले भने।
निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको तर्क छ। कांग्रेसमै रहने कि पार्टी छोड्ने भनेर महासमितिको बैठकको प्रतीक्षा गरेकालाई कांग्रेसमा रहने गरी आशा सञ्चार गर्न प्रतिवेदनले नसकेको पौडेलको निर्क्योल थियो।
‘जो कांग्रेसमा बसौँ कि अरु तिर जाऔँ भन्ने मनस्थिति बनाएका छन्। यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले बैठकमा भने। सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए।
खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक विषयमा प्रतिवेदन बनाएर पेस गरेका थिए।














