काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्णरुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन् । पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।
ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् । ८ पेजको सो संकल्प प्रस्तावलाई उनले महासमिति हलमा सबै प्रतिनिधिहरूलाई वितरण गरेका छन् ।
पार्टीको सदस्यतादेखि अन्य सबै प्रक्रिया र विवरणलाई अनलाइनमार्फत् गर्ने व्यवस्था गर्नुपर्ने र पारदर्शी बनाउनुपर्ने पौडेलको प्रस्ताव छ । त्यस्तै, पार्टीभित्र सबै तहको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, भ्रातृ संस्थामा मनोनयन गर्न नपाइने, भ्रष्टाचारमा सार्वजनिक दोषरोपण गरिएका प्रकरणहरुमा निष्पक्ष व्यक्तिहरुलाई सहभागी गराएर पार्टी आफैँले दबाबविहीन अनुसन्धान गर्ने व्यवस्था गर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पत्ति र त्यसको श्रोतको स्वघोषणा गर्ने, छ महिनाभित्र देश विकासको पाँच, दस र पन्ध्र वर्षे भिजन पेपर तयार गर्ने, भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित या छानविनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्ने, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनैपनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवाय गर्न, समयमै महाधिवेशन गर्न, जनताले मतदान गर्ने कुनै पनि निर्वाचनमा अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले पार्टीका मुख्य पदमा सदस्यबाटै चुनिने गरी विधान परिवर्तन गर्न र पार्टीलाई पूर्णरुपमा आमनागरिकमा आधारित मास बेस्ड पार्टीकारुपमा विकास गर्न समेत संकल्प गर्न प्रस्ताव गरेका छन् ।
बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावकोरुपमा पेश गरेका दस्तावेजहरुमाथि आजदेखि छलफल हुँदैछ । चार वटा हलमा प्रदेशगतरुपमा रुपमा समूह विभाजन गरी छलफलको प्रबन्ध गरिएको छ ।
(यस्तो छ पौडेलको संकल्प प्रस्तावको पूर्ण पाठ
महासमिति बैठकले लिनुपर्ने थप संकल्प
प्रस्तावकः प्रदीप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
(महासमिति बैठक, २०८० फागुन ७–१०)
आदरणीय साथीहरू,
हाम्रो पार्टी नेपाली कांग्रेसको स्थापना अघि पनि देशमा पार्टीहरू थिए, त्यसपछि पनि थुप्रै पार्टी गठन भए । तीमध्ये धेरै पार्टी अहिले छैनन् । वीपी कोइराला लगायतका महान्अ ग्रजहरूबाट वैचारिक इन्जिन र वीर शहीदहरूबाट बलिदानको इन्धन पाएको हाम्रो पार्टीले भने सत्ता वा प्रतिपक्ष, क्रान्ति वा निर्वासन, जहाँ र जस्तोसुकै उतारचढावमा पनि निरन्तर मुलुकको वैचारिक नेतृत्व गरिरहेको छ । हिजो नेपाली कांग्रेस र यसको वैचारिकीलाई नै प्रधान शत्रु मानेका र यसलाई समाप्त पार्न सबै अपराध गरेका उग्रवामपन्थीदेखि उग्र दक्षिणपन्थीसम्मलाई आज हाम्रै वैचारिक नेतृत्व स्वीकार्य मात्र होइन अनिवार्य भएको छ । यो गर्वबोधसँगै अहिले हामीसँग मुलुकको सबैभन्दा ठूलो पार्टीका रुपमा संख्याबोध पनि छ । तर, हामी आत्ममुग्ध हुने अवस्थामा छौं त रु हाम्रो पार्टीमा सबै ठिक चलिरहेको छ त रु आजको देशको मानसिकता र हाम्रो नेतृत्व एवं पार्टीको कार्यशैलीबीच तारतम्य छ त रु उत्तर हामी सबैलाई थाहा छ, छैन । निर्वाचनमा निरन्तर हाम्रो मत प्रतिशत घटिरहेको छ । उपनिर्वाचनको परिणाम त अझ चिन्ताजनक छ । कार्यकर्ता र शुभेच्छुकको ठूलो पब्क्तिले हामी माथि अविश्वास गर्न थालेको छ । यस्तो किन भइरहेको छ भने एकातिर हामीले हाम्रोनेतृत्वमा भएका परिवर्तनबाट मुलुकले प्राप्त गरेका आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि व्यवस्थित रुपमा जनतालाई बुझाउने सङ्गठित प्रयत्न नै गरेका छैनौं । अर्कातिर,सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिवद्धतामाथि जनताले प्रश्नमात्र होइन, शंका गर्न थालेका छन् । वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक र नैतिक रुपमा हामी पार्टीलाई सुधार होइन, पुनर्गठन नै गर्नुपर्ने ठाउँमा छौं । त्यसका लागि यो बैठकमा मेरा केही पूरक प्रस्ताव छन् जसलाई मैले महासमितिले पार्टीलाई गर्नुपर्ने निर्देशका रुपमा लिपिबद्ध गरेको छु ।
१- यो महासमिति बैठक नेपाली कांग्रेसलाई अब प्रतिनिधि लोकतन्त्रबाट प्रत्यक्ष लोकतन्त्रतर्फ अग्रसर ’डिजिटल पार्टी’ बनाउन पार्टी केन्द्रलाई निर्देश गर्दछ । कांग्रेस अब यस्तो डिजिटल पार्टी बन्नेछ, जहाँ हरेक नागरिक स्वेच्छाले पार्टीमा जोडिन सक्नेछ । हरेक गम्भीर विषयमा पार्टीका सदस्यले प्रत्यक्ष प्रतिकृया दिन र लिन, मतदान गर्न र नेतृत्वलाई समेत निर्देशन दिन सक्नेछन् । ठूला सरोकारमा आम छलफलदेखि उम्मेदवार चयनसम्म पार्टीका सदस्यलाई सहभागी बनाउन ‘डिजिटल पार्टी’ पहिलो शर्त भएकाले यसको प्राविधिक पक्षमा तत्काल काम सुरु गर्न यो बैठक निर्देश गर्दछ ।
२- यो महासमिति बैठक नेपाली कांग्रेसको निर्वाचनमा उम्मेदवार छनोट र टिकट वितरणका लागि बनाइएका सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गर्न निर्देश गर्दछ । अब सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिनेछ, आम सदस्यले आफ्नो नेतृत्व आफैं चयन गर्नेछ । वडाको बडाकै, पालिकाको पालिकाकै,प्रदेशको प्रदेशकै र संघको संघकै सदस्यहरूको प्राइमरी चुनावबाट उम्मेदवार छनोट हुनेछन् । समानुपातिकतर्फ पनि प्रतिनिधित्वको प्रकृतिअनुसार सम्बन्धित सदस्यकै मतदानबाट उम्मेदवार छनोट गर्न यो बैठक स्पष्ट निर्देश गर्दछ ।
३- आइन्दा पार्टीका कुनै पनि भ्रातृ संघसंस्थामा कसैलाई पनि मनोनित गर्नु स्वतः अवैध हुनेगरी विधान संशोधन गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । सबै भ्रातृसंस्थालाई निश्चित समय दिएर अनिवार्य रुपमा महाधिवेशनमार्फत् नयाँ नेतृत्व आफैं चयन गर्न पाउने र पार्टी नेतृत्वले भविष्यमा कहिल्यै हस्तक्षेप नगर्ने ग्यारेन्टी गर्न पार्टीलाई यो बैठक निर्देशन गर्दछ । साथै, हालको विधानले तोके बमोजिमका सबै विभाग र समिति महासमिति बैठक सकिएको मितिदेखि १ महिना भित्रमा पूर्णता दिन निर्देश गर्दछ ।
४- यो महासमिति बैठक आजसम्म पार्टीलाई अनियमितता र भ्रष्टाचारमा सार्वजनिक दोषारोपण गरिएका प्रकरणहरूमा निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर पार्टी आफैले दबाबविहीनअनुसन्धान गर्न र त्यसको प्रतिवेदनसँगै स्वेतपत्र पनि जारी गर्न केन्द्रीय समितिलाई निर्देशन गर्दछ । त्यसमा जोसुकै दोषी देखिए पनि पार्टी आफैले राज्यका सम्बन्धित निकायमा छानबिन र कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ । भ्रष्टाचार भएको छ भने पनि पार्टी होइन, केही सीमित नेताबाट भएको छ । नैतिक निष्ठा र मूल्यको जीवन बाँचेको एउटा आम कांग्रेस सदस्य अब कुनै नेताको अपराधको कलङ्कको हिस्सेदार हुनेछैन ।
५- यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पति र त्यसको स्रोतको स्वघोषणा गर्नेछन् । र, राज्यकाकुनै पनि अङ्गलाई कुनै पनि छानबिनका लागि स्वआमन्त्रण गर्नेछन् । सबै तहका पदाधिकारी र सदस्य हुँदै पार्टीका साधारण सदस्यले समेत आर्थिक पारदर्शिताको जीवन बाँच्नेछन् । सम्पत्ति र स्रोतको स्वघोषणा गर्न नसक्ने सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था अब पार्टी विधानमै गर्न यो बैठक पार्टीलाई निर्देश गर्दछ ।
६- विज्ञहरूसमेत सम्मिलित गरी ६ महिनाभित्र देश विकासको पाँच, दस र पन्ध्र वर्षे भिजन पेपर तयार गर्न यो बैठक पार्टी केन्द्रलाई निर्देश गर्दछ । देशमा बढ्दो बेरोजगारीको समस्या हल गर्न, युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न, उत्पादनमुखीव्यवसायको प्रवर्द्धन गर्न, नवउद्यमीहरूलाई व्यवसायिक वातावरण सिर्जना गर्न,व्यवसाय गरिरहेकाहरूलाई सहजीकरण गर्न, युवाहरूलाई उद्यमशील बनाउन देशकोआर्थिक, सामाजिक तथा विविध आयामलाई सम्बोधन गर्दै कार्यान्वयन गर्न सकिने दीर्घकालीन योजनासहित भिजनरी दस्तावेज कांग्रेसले तयार गर्नु पर्दछ । हामी यी यी विषयमा, यी यी क्षेत्रमा यसरी यसरी देशको विकास गर्छौ भन्ने प्रष्ट भिजन पेपर नभई जनताले पत्याउने अवस्था अब छैन ।
७- भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वाछानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्वित हुने व्यवस्था गर्न यो बैठक निर्देश गर्दछ । गैरकानुनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्य कांग्रेसले चिन्दैनचिन्ने व्यवस्था विधानमै हुनुपर्नेछ । सफाइ पाएका हकमा भने पुरानै जिम्मेवारीमा पुनः बहालीको व्यवस्था हुनेछ ।
८।- पार्टीबाट वडा अध्यक्ष भन्दा माथि प्रधानमन्त्री सम्म भएका वा कुनैपनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्न यो महासमिति बैठक निर्देश गर्दछ । त्यसमा सफा नदेखिएमा प्रतिनिधि स्वतः निलम्बन हुने र छानबिनमा जाने अनिवार्य व्यवस्था हुनुपर्दछ ।
९-पार्टीमा आपतकालीन वा सङ्कटकालीन प्रावधानलाई सुविधाका रुपमा व्याख्या नगर्न पार्टी केन्द्रिय समितिलाई यो बैठक सचेत गर्दछ । र, पार्टीको १५औँ महाधिवेशन २०८२ साल मब्सिरमै सम्पन्न गर्न निर्देश गर्दछ ।
१०- पार्टीको विधानमा भएका व्यवस्था कार्यान्वयन नगर्नु विधानको उल्लंघन मानिने ठहर यो बैठक गर्दछ । आइन्दा विधानको उल्लंघनलाई दण्डनीय हुने व्यवस्था गरिनुपर्दछ । विधानको व्यवस्था कार्यान्वयन नगर्दा सो पदाधिकारी निलम्बन हुने प्रावधान राख्न यो महासमिति बैठक निर्देश गर्दछ ।
११- जनताले मतदान गर्ने निर्वाचनहरूमा नेपाली कांग्रेसले निर्वाचनपूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न यो महासमिति बैठक निर्देश गर्दछ । पार्टीलाई मतदान गर्नपाउनु सदस्य वा शुभेच्छुकको हक हो । त्यो हक खोस्ने अधिकार नेतृत्वलाई हुनसक्दैन । नेपाली कांग्रेस पार्टी आफ्नै सामर्थ्यमा उभिएर चुनावी मैदानमा होमिनेछ, प्रतिस्पर्धा गर्नेछ ।
१२- यो बैठक सरकारको प्रभावकारिता माथि असन्तोष व्यक्त गर्दै भविष्यमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री वा अन्य कुनै निर्वाचित प्रतिनिधिले पार्टीसगँ स्पष्ट समन्वय गररे काम गर्न निर्देश गर्दछ । निश्चित समय सिमा भित्र निश्चित कार्य सम्पन्न गर्न पार्टीले सरकारलाई स्पष्ट निर्देशन दिन समेत सक्नुपर्दछ ।
१३- सरकारमा रहँदा वा सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेसले जनताको पक्षमा दृढताका साथ काम गर्न यो महासमिति बैठक पार्टी नेतृत्वलाई निर्देश गर्दछ । सरकारको तर्फबाट नेपाली कांग्रेसले गरेका सम्पूर्ण कामहरूको फेहरिस्त सार्वजनिक गर्न, ठूला राजनीतिक निर्णय वा सार्वजनिक महत्वका विषय तथा राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण गर्दा अनिवार्य रुपमा सरोकारवाला क्षेत्र र आम नागरिकको लिखित तथा मौखिक सुझाव लिन, आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने र विद्यमान कानुनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने जस्ता संविधानले निर्दिष्ट गरेका सहभागिता, समावेशिता, सामाजिक न्यायजस्ता लोकतन्त्रसँग जोडिएका विषयमा सुशासन र पारदर्शिता कायम गर्न निर्देश गर्दछ ।
१४- २०४८ सालदेखि आजसम्म नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, सामाजिक, आर्थिक उपलब्धि तथा विकासका सम्पूर्ण कामहरूको एकीकृत विवरण अबिलम्ब तयार गरी सबै नागरिकका सामु लैजान र त्यसका लागि आवश्यक समिति गठन गर्न यो बैठक पार्टीलाई निर्देश गर्दछ । यी उपलब्धि जनतालाई बुझाउन नसक्दा पनि पार्टी प्रति नयाँ पुस्ताको आकर्षण हुन सकेको छैन ।
१५- आउँदो महाधिवेशन अगाडि नै नेपाली कांग्रेसको विधान संशोधन गरेर सदस्यता एकै प्रकारको बनाउन यो महासमिति बैठक पार्टी नेतृत्वलाई निर्देश गर्दछ । पार्टी सदस्य नै सबै भन्दा बलियो हुने र पार्टी सभापति लगायत मुख्य पदमा सदस्य बाटै चुनिने गरि विधान परिवर्तन गर्न र नेपाली कांग्रेस पार्टीलाई पूर्ण रुपमा आम नागरिकमा आधारित पार्टीका रुपमा विकास गर्न यो बैठक पार्टीलाई निर्देश गर्दछ ।आउदा दिनमा यिनै सदस्यले पार्टीको सबै तहका मुख्य नेतृत्वदायी पदहरूमा प्रत्यक्ष मतदान गनेर निर्वाचित गर्नेछन् ।
१६- नेपाली कांग्रेस केन्द्रीय समितिले तयार पारेको वार्षिक क्यालेण्डर हुबहु कार्यान्वयन गर्न र सबै तहका आफ्ना सदस्यलाई नियमित प्रशिक्षण दिन यो महासमिति बैठक निर्देश गर्दछ । यस्ता प्रशिक्षण कार्यक्रममा परम्परागत ढङ्गका प्रशिक्षण होइन, आजका नयाँ र ज्वलन्त विषयहरूको निराकरण गर्ने, सुशासनका लागि आवाज उठाउने,भ्रष्टाचारको अन्त्य गर्ने, सामाजिक विकृतिविरुद्ध लड्न तयार हुने, आर्थिक समृद्धिमा जोड्न प्रेरणा दिने जस्ता आजका आवश्यकतासँग जोडिएका अनिवार्य दायित्व र जिम्मेवारी वहन गर्ने पार्टी सदस्य तयार पार्न प्रेरित हुनुपर्दछ । साथै, आम नागरिक र समुदायसँग जोडिने विविध क्रियाकलापलाई प्राथमिकता दिन र सबै तहका नेतृत्वले सक्रिय सहभागिता जनाउन पार्टीका सम्पूर्ण सदस्यलाई निर्देश गर्दछ ।
१७- यो महासमिति बैठक अब नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित सांसद तथा मन्त्री, जनप्रतिनिधिहरूको सार्वजनिक लेखा परीक्षण गर्ने संयन्त्रको विकास गर्न निर्देश गर्दछ । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिहरूको कामकारबाहीलाई देशको चालु खर्च घटाउन, प्रशासनिक व्ययभार कम गर्न सांसदहरूको संख्या घटाऔँ, प्रदेश तथा संघीय सरकारका मन्त्रालय संख्या घटाऔँ, स्थानीय तहको संख्या नै घटाऔँ । यसका लागि पार्टीले कार्यदल बनाई उचित र ठोस कार्ययोजना ल्याउन यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । अनुगमन तथा मूल्याङ्कन गर्न आन्तरिक रुपमा कार्यसम्पादन, अनुगमन तथा मूल्याङ्कन संयन्त्रको विकास गरेर यसलाई सशक्तरूपमा कार्यान्वयन गर्नुपर्दछ ।
१८- नेपालको सार्वजनिक शिक्षा तथा स्वास्थ्य सुधारका लागि तत्काल अभियान घोषणा गर्न यो महासमिति बैठक पार्टी नेतृत्वलाई निर्देश गर्दछ । पार्टीले घोषणा गरेको सार्वजनिक शिक्षा तथा सार्वजनिक स्वास्थ्य सेवाको सुधारका अभियानमा जिम्मेवारपूर्ण भएर लाग्न पार्टीले सम्पूर्ण आम सदस्यलाई निर्देशन गर्नुपर्दछ ।
१९- संघीय प्रणाली अन्तर्गतका तीनै तहलाई संविधानबमोजिम अधिकार हस्तान्तरण गर्न, संघीयतालाई सार्थक ढंगले प्रभावकारीरूपमा लागू गराउन अधिकार तथा भूमिका प्रत्यायोजन गर्नका लागि आवश्यक कानुन निर्माणमा नेपाली कांग्रेसले नेतृत्व लिन यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ ।
२०- सार्वजनिक सेवा प्रवाहसँग जोडिएका आवश्यक कर्मचारीतन्त्र तथा अन्य संरचनाहरूको सुधारका निम्ति ठोस योजना र कार्य प्रस्ताव ल्याउन यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । सार्वजनिक सेवालाई चुस्त, दुरूस्त र पारदर्शी बनाउँदै स्वचालित ढंगबाट सञ्चालन गर्न आवश्यक नीति तथा कानुन निर्माणका लागि नेपाली कांग्रेसले संसद्मा प्रस्ताव लैजान यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ ।
२१- संविधानले निर्दिष्ट गरे अनुरूप सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा अबको आर्थिक विकासको नेतृत्व नेपाली कांग्रेसले गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । वर्तमान आर्थिक अवस्थाको सबै आयामलाइ सुधार गर्न तत्काल स्पष्ट कार्य योजना ल्याउन, उत्पादनमुखी अर्थतन्त्रको जग निर्माण गर्न, रोजगारीको सिर्जना गर्न, उद्यमशीलताको विकास गर्न, नवीनतम प्रविधिको विकास गर्न लगायतका विषयमा विभिन्न क्षेत्रमा ज्ञान हासिल गरेका स्वदेश तथा विदेशमा रहेका दक्ष जनशक्तिसँग अनिवार्य रुपमा सहकार्य गरी आफ्ना योजना निर्माण गर्न निर्देश गर्दछ ।
२२- नेपालको वर्तमान परराष्ट्र नीतिलाई पुनर्मूल्याङ्कन गर्दै आजको समय र आवश्यकता अनुसार राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक परराष्ट्र नीति निर्माणका लागि नेतृत्व गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ ।विद्यमान परराष्ट्र संयन्त्रलाई राष्ट्रिय हितका निम्ति अधिकतम परिचालन गरि प्रभाकारी बनाउन बदलिएको नयाँ विश्व, लोकतान्त्रिक मूल्य मान्यतामा आधारित राजनीतिक व्यवस्था, साथै विज्ञान तथा प्रविधिले सिर्जना गरेका अवसरहरूलाई राष्ट्रिय हितमा हुनेगरि मुलुकलाई औद्योगिकरणतर्फ उन्मुख गर्न आर्थिक कूटनीति तथा लगानीमैत्री नीति, पर्यटन आदानप्रदान, पूँजीको विकास तथा आदान प्रदान, प्रविधिको आदानप्रदान, सीप तथा ज्ञानको आदानप्रदान, खेलकुद, मनोरञ्जन तथा कला साहित्य क्षेत्रको विस्तार, डिजिटल करेन्सी, श्रम तथा रोजगारीका नयाँ अवसर र सम्झैता जस्ता आधुनिक कूटनीतिका बहुआयामिक विषय र क्षेत्रलाई नयाँ ढंगले परिभाषित गरेर नेपालको परराष्ट्र नीति तयार पार्न कांग्रेसले नेतृत्व गर्नुपर्दछ ।
२३-नेपाली कांग्रेस पार्टीलाई पर्यावरण मैत्री पार्टीका रूपमा विकास गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । विश्वव्यापी रुपमा देखिएको पर्यावरणीय असर र क्षतिलाई न्यूनीकरण गर्न क्लाइमेट फाइनान्स तथा ग्रीन इकोनमी जस्ता अवधारणा विकास गरी पर्यावरणीय चेतना विस्तारका लागि सचेतनामूलक कार्यक्रमहरू समेत नेपाली कांग्रेसले सञ्चालन गर्नुपर्दछ ।
२४। नेपाली कांग्रेसले अध्ययनका लागि विभिन्न देशमा पुगेका नेपाली युवा जनशक्तिलाई तथा अध्ययनपछि पनि विभिन्न देशका विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरूले सिकेको ज्ञान र पुँजीलाई नेपालको विकासमा योगदान पुर्याउने सन्दर्भमा आवश्यक रणनीतिक योजना तयार पार्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । साथै, विदेशमा रहेका नेपाली नागरिकलाई नेपालमा हुने आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न निर्देश गर्दछ ।
२५। आरक्षण र समानुपातिक कोटाबाट एउटा व्यक्तिले कुनै एक पदमा एक पटक मात्र सहभागी हुन पाउने व्यवस्थाका लागि नीति तय गर्न यो महासमिति बैठक पार्टीलाई निर्दे श गर्दछ । कुनै एक व्यक्ति कुनै पदमा कतिपटक सहभागी हुन पाउने भन्ने निर्क्योल गर्न नेपाली कांग्रेसले आफ्नो नीति÷ विधानमा नै यसको व्यवस्थाबारे उल्लेख गर्नुपर्दछ ।
२६। विद्यमान निर्वाचन समिति, अनुशासन समिति, लेखा समिति तथा मूल्याङ्कन समितिलाइ स्वतन्त्र, निष्पक्ष र अधिकार सम्पन्न बनाउन महाधिवेशनबाट नै समिति निर्वाचित हुने व्यवस्था विधानमै कायम गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ ।
२७-पेशागत मूल्यमान्यताले निषेध गरिएका कतिपय पेशागत शुभेच्छुक संस्थाका सदस्यहरूको सवालमा तिनको संस्थागत आवद्धतालाई बदलेर विषयगत विशेषज्ञका रुपमा भूमिका प्रदान गर्न÷ ीबतभचब िभ्लतचथ को व्यवस्था गर्न यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ । यसको सुरुवातका लागि नेपाली कांग्रेसको विद्यमान नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पार्टीको थिंक ट्याङ्कको रुपमा विकास गर्न निर्देश गर्दछ ।
२८- नेपाली कांग्रेसले निर्वाचनअगाडि बनाएको घोषणा पत्र अनुसारका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गर्न र त्यसको वार्षिक रुपमा समीक्षा गर्दै घोषणा पत्रका प्रतिबद्धताको प्रगतिबारे जनतालाई नियमित जानकारी दिन यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ ।














