काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ८ विकेटको क्षतिमा टार्गेट पूरा गरेको हो। यसका लागि उसले ४० ओभरसम्म खेलेको थियो।
नेपालका लागि कुशल भुर्तेलले आठौँ विकेट लिएका थिए। उनले नामिबियाका ट्रम्पम्यानलाई आउट गराए। यस्तै ललितनारायण राजवंशीले सातौं विकेट लिए। उनले नामिबियाका जान ग्रिनलाई ६ रनमा बोल्ड गरेका थिए।
छैटौं र पाचौँ विकेट कुशल भुर्तेलले लिएका थिए। भुर्तेलले नामिबियाका जान निकोललाई ५ रनमा आउट गराए। भने कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा आउट गरे। दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले पनि एकएक विकेट लिए।
त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाएको थियो। निकोलास डिभन १।४ ओभरमा ८ रनमा रनआउटको सिकार भए। यस्तै ४।१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा १६८ रनमा अलआउट भएको थियो।
नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे।
कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।
६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो।
अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे।














