बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको सरकारलाई रुलिङ



काठमाडौं । बालकुमारी घटनाको जवाफ माग गर्दै विपक्षी दलका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

गत पुस १३ गते कोरियन भाषा परिक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जनाले युवाले ज्यान गुमाएका थिए। यो घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको छ।

समितिले बुझाएको प्रतिवेदनमा ज्वालाको नाम उल्लेख भएको भन्दै विपक्षी दलले फागुन ६ गतेको बैठकमा उनको राजीनामा मागेका थिए। सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए।

तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले आजको बैठक अवरोध गरेका थिए। आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग सहित विपक्षी सांसदहरु उभिइरहेपछि सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे। सभामुखको रुलिङसँगै संसद पुनः सुरु भएको छ।

प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार  १२ : १० बजे