मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन चहलपहलः इलाममा रास्वपाले खटायो सांसदको टोली



विराटनगर । आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारको टुंगो नलागे पनि विभिन्न पार्टीका नेताहरुको भ्रमण बढ्न थालेको छ ।

यसै क्रममा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता र सांसदहरुलाई परिचालन गरेको छ ।

रास्वपाले आज शुक्रबार इलाम पुग्ने गरी सांसदहरु परिचालन गरेको हो ।

उनीहरुले शनिबारदेखि विभिन्न पालिकामा स्थलगत भ्रमण गरी निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारको पक्षमा वातावरण बनाउन ६ जना नेता तथा सांसदलाई परिचालन गर्दैछ ।

उनीहरुले पालिकाका विभिन्न क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने जनाइएको छ ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र २ मा खटाइएको छ ।

यसैगरी सांसद सोबिता गौतमलाई जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका, मनिष झालाई माई नगरपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको पार्टीले जनाएको छ ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।

उक्त क्षेत्रमा प्रमुख पार्टीहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायत कसैले पनि हालसम्म उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।

उम्मेदवारको टुंगो नलागे पनि नेताहरुको जिल्ला र सम्बन्धित क्षेत्र भ्रमण बाक्लिएको इलामका सञ्चारकर्मी सोमनाथ अधिकारीले बताए ।

२०७९ सालको निर्वाचनमा नेम्बाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग एक सय १४ मतको फरकले विजयी बनेका थिए ।

नेम्वाङले ३० हजार २० मत पाएका थिए भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

उक्त क्षेत्रमा पहिचान पक्षधर दलहरुले साझा उम्मेदवार दिनेबारे छलफल थालेका छन् ।

एमालेबाट नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ, बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी उम्मेदवारको चर्चामा छन् ।

यस्तै, कांग्रेसबाट जिल्ला सभापति खड्का, नेताहरू भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, संविधानसभा सदस्य नगेन्द्र कुमाललगायतको चर्चा छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : २७ बजे