कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ राजीनामा दिन आग्रह गरे ।

लामिछाने पत्रकारिता गरेर नेतालाई प्रश्न गरेर आएका व्यक्ति भएपनि आफू प्रश्नको जवाफ दिने ठाउँमा पुगेपछि प्रश्न नै गर्न नपाइने, प्रश्नलाई निषेध गर्नुपर्छ भन्न नहुने र आफैंमाथि प्रश्न उठिरहेको बेला गृहमन्त्री बन्न नहुने धारणा पौडेलको छ ।

उनले भने, ‘आफैंमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री बन्नु हुँदैन थियो । प्रधनमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु हुँदैन थियो ।’लामिछानेमाथि सहकारी ठगी प्रकरणमा आरोप लागेको छ । लामिछानेले गृहमन्त्री भएपछि सहकारी पीडितलाई न्याय दिनेमा शंका गर्दै पौडेलले सोधे, ‘आज ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । बचतकर्ताले सहकारी संचालकको सम्पत्तिबाट आफ्नो बचत फिर्ता दिनुपर्छ भन्ने माग गरेका छन् । अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ?’

सहकारी पीडितहरुको मन जित्न नसकेको सरकारले उनीहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्थतालाई कसरी थेग्न सक्छ भन्दै प्रश्न गरेका पौडेलले लामिछानेलाई राजीनामा दिन सुझाए ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक ४० मिनेट ढिलागरी शुरु भयो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए ।

त्यसपछि कांग्रेस प्रतिनिधिका रुपमा बोलेका सांसद पौडेलले सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउनै नहुने भन्दै सोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । राज्यको उच्च तहमा बसेको व्यक्ति सहकारी प्रकरणमा मुछिएको र उनैबाट सहकारी पीडितले न्याय पाउनेमा कांग्रेसले आशंका व्यक्त गरेको छ ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  १२ : ४३ बजे