महरासँगको बयान सकियो,थप आवश्यक प्रक्रिया अघि बढाइदै



काठमाडौँ, ८ चैतः सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ ।

बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनिमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । उनिमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । 

अघिल्लो पटक सिआइबीले उनिमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।रासस 

प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार  ८ : ०५ बजे