काठमाडौं– संघीय संसद्को राष्ट्रियसभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज मंगलबार बस्ने भएको छ । आज विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका काम कारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दैछ ।
यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोज र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ ।