आज संघीय संसद्का दुवै सदनको बैठक, यस्ता छन् कार्यसूची



काठमाडौं– संघीय संसद्अन्तर्गत दुवैको सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभामा आज अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने सम्भावित कार्यसूची रहेको छ भने आजको बैठकमा अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको मनोनयन र हेरफेर गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : २९ बजे