मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर गठबन्धनमा परिवर्तन’



काठमाडौँ, २१ चैत राष्ट्रियसभाको आजको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गर्नुभएको बताए ।

सभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले राष्ट्रिय आवश्यकतालाई विचार गरेर परिवर्तन गरिएको गठबन्धनका सम्बन्धमा अनावश्यक टिप्पणी गरिएकामा आपत्ति जनाए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा यसअघि ध्यान नदिइएको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । पूँजीगत बजेट खर्च गर्न नसक्नुको पछाडि सचेत र इमान्दार प्रयत्न नभएको तथ्य पेस गर्दै सांसद मगरले त्यसमा ध्यान दिनुपर्ने बताए।

सांसद कृष्णबहादुर रोकायाले राष्ट्रिय गौरवका आयोजना लामो समयदेखि सुरु भए पनि अपेक्षित रुपमा परिणाम हासिल हुन नसकेको तथा लागतसमेत बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले मध्य पहाडी लोकमार्ग निर्माण कछुवा गतिमा मात्रै अगाडि बढेको र निर्माण व्यवसायीले प्रभावकारी काम नगर्दा अपेक्षित प्रतिफल हासिल हुन नसकेको उनको कथन छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम किन अगाडि बढ्न सकेन भन्ने प्रश्न गर्दै उनले रुकुम र जाजरकोट जिल्लामा सञ्चालित आयोजनाको अवस्था दुरुहपूर्ण रहेको बताए ।

सांसद भगवती न्यौपानेले मुलुकको हितका लागि सत्तापक्ष र प्रतिपक्ष नभनीकन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको अर्थतन्त्र समस्यामा रहेको विषयलाई सरकार र सरोकारवाला दुवैले स्वीकार गरेको अवस्थालाई ख्याल गर्दै आन्तरिक तथा बाह्य कारणको खोजी गर्नुपर्ने बताए ।

सांसद गोमादेवी तिमिल्सिनाले राष्ट्रियसभाका सदस्यहरुले नीति निर्माण निर्वाह गरेको भूमिका छायाँमा परेको बरु विकास निर्माणको काम गरे भनेर हल्ला खल्ला गर्नेहरुको विशेष प्राथमिकतामा पर्ने गरेको गुनासो गरे ।

राष्ट्रियसभा सदस्यहरुको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षा अध्ययनका नाममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिएको तथ्य पेस गर्दै भने, “काठमाडौँको धरहरा थाहा नपाउनेले विदेशका फोटो राखेर हल्ला गर्ने प्रवृत्ति मौलायो । यसबारेमा गम्भीर हुनु जरुरी छ ।”

यसअघि राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले शान्ति प्रक्रियाको काम टुङ्गो नलाग्दा द्वन्द्वपीडितले प्रभावकारी राहत पाउन नसकेकामा गुनासो व्यक्त गर्नुभएको थियो । सांसद नारायणदत्त मिश्रले कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क जोड्ने सडक निर्माणमा सरकारले ध्यान दिन नसक्दा पर्यटकको आवागमनमा कठिनाइ भएकामा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : १६ बजे