उपनिर्वाचनका उम्मेदवार छान्न कांग्रेसमा अझै अलमल



काठमाडौं– नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागी हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल गरि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने उनले बताए ।

उनले भने, ‘बुधबार पनि निर्णय हुन सकेन । बुधबारको बैठकले इलाम–२ र बझाङ प्रदेशसभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर बिहीबार छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ । बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ । त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ । त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ ।’

सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिने प्रयास भएका कारण उम्मेदवार चयनमा ढिलाइ भमएको उनको दाबी छ ।
खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षबीच विवाद छ ।

इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का २०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन् । उता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ०३ बजे