गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीले लिए शपथ



गण्डकी– गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरूलाई सपथ खुवाएका हुन् ।

बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुन् भने गुरुङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन् ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता अधिकारीलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार  ८ : १९ बजे