मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यस्त तर अस्वस्थ्य पत्रकारलाई उपचारको चिन्ता



काठमाडौं। अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ ।

इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको ‘मेरो रेडियो’ मा समाचार बाचक र कार्यक्रम प्रस्तोता छन् ।
विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिने गाला, कान र चिउँडोमा मासुको ठूलो लुर्को पलाएको छ ।

डेरामा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका उनलाई मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको उनी बताउँछन् ।

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विर्तामोडको बीएन्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताए ।

उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । अरु मान्छे जस्तै स्वस्थ्य हुने इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन् ।
हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले उनको उपचारका लागि इजी केयर फाउन्डेसनमार्फत शुष्मा मेमोरियल अस्पताल काठमाडौंमा पहल भइरहेको बताए ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँचेका उनको बुवाआमा सामान्य कृषक हुन् भने एउटा भाइ वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : ४७ बजे