राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, एमाले र कांग्रेसका दुई उम्मेदवार मैदानमा



काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज बुधबार हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रक्रियाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ ।

सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)की विमला घिमिरे र प्रतिपक्षीबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छन् ।

वर्तमान सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणप्रसाद दाहाल निर्वाचित भएपछि भागबण्डामा उपाध्यक्ष एमालेले लिने सहमतिअनुसार नै घिमिरेलाई साझा उम्मेदवार बनाइएको हो ।

यसअघि माओवादीबाटै सभा उपाध्यक्षको प्रतिनिधित्व गरेकी उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार  ७ : ३६ बजे