कांग्रेस र एमाले मिलेर देशलाई निकास दिनुपर्छ– शेखर कोइराला



दाङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा बढेको निराशा हटाउन आफूले पार्टीभन्दा माथि उठेर देश बचाउने अभियान सुरु गरेको बताएका छन् ।

घोराहीमा बिहीबार कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश दुर्घटनाको संघारमा पुगेकाले अभियान सुरु गरेको बताए ।

सो अवसरमा उनले ठूला दल कांग्रेस र एमाले मिलेर देशलाई निकास दिनुपर्ने बताए ।

‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ,’ उनले भने, ‘राजनीतिक दलहरूले राष्ट्र पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर राष्ट्रलाई निकास दिऊँ ।’

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको नेता कोइरालाले बताए । नेताहरूले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले संकट बढेको दुःखेसो उनले पोखे ।

नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपु¥याएसम्म आफ्नो यात्रा नरोकिनेसमेत बताए ।

प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार  ९ : ५२ बजे