मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीको दाबी : रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन्



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियासील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज(शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पारेका छन् ।

नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गरेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गरे । शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौंको थापाथलिमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घण्टासम्म विभिन्न व्यक्तिहरुलाई शुभकामना र हौसला प्रदान गरेका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताएका हुन् ।

लामिछानेले भने, ‘यो सहर जिउँदो जाग्दो र क्रियाशील सहर हो भन्ने कुरा हमीले जनतालाई महशुस गराउनुपर्ने हुन्छ । त्यसको यो सुरुआत मात्र भएको हो ।’ उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे ।

‘नियम र कानूनहरु कडाइ साथ पालना हुन्छन् । नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज हुँदैन । यही उद्देश्य लिएर हामी अगाडि बढेका छौं । आगामी दिनमा अरु थुप्रै त्यस्ता कार्यक्रमहरु हामी लिएर आउँछौं’, लामिछानेले भने ।

थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाई दिएर शुभकामना दिएका गहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरुआत गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको धारणा राखेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १२ : ५६ बजे