रेशम पक्षका लक्ष्मणले पेस गरे मुख्यमन्त्रीमा दाबी, कांग्रेस र एसको समर्थन



काठमाडौं (सुदूरपश्चिम)प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्।

नेपाली कांग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिको समर्थनमा लक्ष्मण किशोरले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।

केन्द्रमा एमाले, माओवादी र रञ्जिता श्रेष्ठ पक्षीय नाउपा गठबन्धनको निर्णयलाई चुनौती दिँदै प्रदेशमा कांग्रेस, नेकपा समाजवादी र रेशम चौधरी पक्ष नागरिक उन्मुक्ति धरले अर्को गठबन्धन गरेका हुन्।

यसअघि आइतबार मात्रै एमाले, माओवादी र रञ्जिता श्रेष्ठबीच आलोपालो मुख्यमन्त्री बनाउने सहमति भएको थियो। पहिलो चरणमा रञ्जिता पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने समझदारी उनीहरूले गरेका थिए।

उक्त सहमति सार्वजनिक हुँदानहुँदै प्रदेशमा नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहबी लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने अर्को सहमति भएको थियो।

लक्ष्मणलाई कांग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। यसमा राप्रपाका एक जना सदस्य पनि थपिएको‍ चौधरीको दाबी छ।

यसो गर्दा सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक मत उनीहरूको पुग्ने उनीहरूको दाबी छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल दुई जनाको पद रिक्त भएकाले २६ जनाको समर्थन भए सरकारका लागि बहुमत पुग्ने उनीहरूको दाबी छ।

प्रदेशका बझाङ ‘क’बा प्रत्यक्ष निर्वाचित कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको मृत्यु भएको र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि हाल ५१ सदस्य छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुने उनीहरूको भनाइ छ।

सुदूरपश्चिममा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्।

नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन्।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ४ : २७ बजे