मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ: मन्त्री शर्मा



काठमाडौं, ३ वैशाख सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिए ।

नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताए । सञ्चारमाध्याममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उनले जोड दिए ।

“समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरुका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ”, मन्त्री शर्माले भने, “यसले प्रशासन, पत्रकारितालगायत जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।”

सञ्चारमाध्यामले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ ।

पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्को भूमिका महत्वपूर्ण हुने उनले बताए ।

“सञ्चारमाध्यम तथा महासङ्घले गणतन्त्र स्थापनामा अहोरात्र कलम चलाउँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिचित भएका हौँ”, मन्त्री शर्माले भने, “सञ्चारमाध्यमले हाम्रो सङ्घर्ष र उपलब्धिका बारेमा नयाँ पुस्तालाई बुझाउन आश्यक छ ।”

गणतन्त्र स्थापनाका साथै मुलुकमा अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, पिछडिएको वर्ग सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउन सञ्चारमाध्यामले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । “अहिले गलत गर्नेहरु दण्डित भइरहेका छन्”, उनले भने, “यो गणतन्त्रकै उपलब्धि हो ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहे पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

पत्रकारिता क्षेत्रलाई पुनःसंरचना गर्नु आजको आवश्यकता रहेको भन्दै उहाँले यसका लागि कानुन निर्माण अघि बढिरहेको जानकारी दिए ।

अहिलेसम्म सञ्चारमाध्यम परम्परागत कानुनहरुबाट सञ्चालन भइरहेका भन्दै मन्त्री शर्माले यसलाई पुनःसंरचना गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताए । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ बनाएर सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

“आमसञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा छ । त्यो गठन भएपछि सञ्चारमाध्यम तथा पत्रकारको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । साथै सरकारी सञ्चारमाध्यमको पनि पुनःसंरचना हुन आवश्यक छ”, सूचना तथा सञ्चार प्रविधिमन्त्री शर्माले भने । नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको भन्दै साइबर सुरक्षा, दूरसञ्चार ऐन संशोधनका लागि अन्तिम तयारीमा रहेको मन्त्री शर्माले जानकारी दिए ।

आजदेखि सुरु भएको महोत्सव भोलिसम्म सञ्चालन हुनेछ । पत्रकार महासङ्घ दाङ शाखाको १२औँ अधिवेशन तथा २२औँ साधारणसभाका अवसरमा मिडिया महोत्सवको आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ५२ बजे