मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम २ मा पाँच सय ४७ नयाँ मतदाता, विद्यार्थीलाई दोहोरो चिन्ता



काठमाडौं। इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ कायम गरिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता थपिएका छन् ।

वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको संख्या ५६ हजार आठ सय ६९ हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
क्षेत्र २ मा पाँच पालिकाका ४२ वटा वडा पर्छन् । इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै क्षेत्र २ मा पर्छन् । यी वडाको कुल मतदाता संख्या ३४ हजार ४५ छ ।

देउमाई नगरमा २६ हजार तीन सय ६५, चुलाचुलीमा १८ हजार पाँच सय ४५, फाकफोकथुममा १६ हजार तीन सय दुई, माङ्सेबुुङमा १२ हजार पाँच सय ३६ र माई नगरका वडा ६, ७, ८ मा आठ हजार ९६ मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ । २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।

क्षेत्र २ मा अहिले ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । सुरक्षा निकायले सबै मतदानस्थललाई ‘अति संवेदनशील’ भनेको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुनलागेको देशभरको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको हो ।

यसपाली पाँच सय ४७ मतदाता थपिए पनि कक्षा १२ को परीक्षा वैशाख १४ देखि र स्नातक तह दोस्रो वर्षको परीक्षा वैशाख १६ देखि हुने भएपछि परीक्षार्थीले मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ । कतिपय परीक्षा केन्द्र नै मतदानस्थल पनि भएकाले परीक्षामा बाधा पुग्नेसमेत देखिएको छ ।

इलाम २ का ६ विद्यालयमा मतदान केन्द्र पनि छ । चुलाचुलीको भानु मावि, फाकफोकथुमको सिंहदेवी मावि, मंगलबारेको भानुभक्त मावि र बरबोटेको अमर उच्च मावि परीक्षा केन्द्रमा मतदान केन्द्र छन् ।
एउटा विद्यालयमा करिब दुई सय विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्नेछन् । आफ्नो परीक्षा केन्द्रमा परीक्षा दिएर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ । परीक्षा र निर्वाचन एकदिन पर्दा मतदातासमेत रहेका विद्यार्थीलाई दोहोरो चिन्ता थपिएको छ ।

स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहानदेखि हुँदैछ । सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थी १५ गतेको मत खसालेर आउन सक्ने अवस्था नरहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक संघ कोषाध्यक्ष विमला पोख्रेलले बताइन् ।

गत भदौ २६ मा यो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि १२ दल र सात उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ०६ बजे