मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा.कोइरालासँग किरात धर्म गुरुले भने : गिरिजाप्रसादपछि देशले अभिभावक पाएन



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रममा पुगेका छन् ।

उपनिर्वाचनको प्रचारका लागि केही दिनदेखि इलाम २ मा रहेका डा.कोइरालाले मंगलबार इलाम २ मै रहेको इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन् ।
भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमासमेत प्रहार हुन थालेको गुनासो गरे ।

लिङ्देनले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै शेखर कोइरालालाई भने, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

यसअघि हिजो कोइरालाले इलाम २ का नेताहरुसँग छलफल गरेका थिए । उनले कांग्रेसी नेताहरुलाई उपनिर्वाचनमा कांग्रेस जसरी पनि विजयी हुनुपर्ने बताएका थिए । उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ३२ बजे