मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनको सम्पुर्ण तयारी पूरा, निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह



इलाम । वैशाख १५ गते शनिबार हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उक्त दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई आफूले छानेको उम्मेदवारको चिन्हमा निर्धक्क भई मतदान गर्न मतदाताहरुमा निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।तेस्तै मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिएको पनि आयोगले जनाएको छ ।

मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारी सकिएको छ । क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ । भने मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् । छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानको दिन विहान ५ः०० बजे देखि साँझ ६ः०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागन बन्द हुनेछन् । झापा¸ मोरङ¸ पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : २६ बजे