मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न साझा प्रयास जरुरी : मन्त्री बस्नेत



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् ।

उनले सरकारले जलवायु परिवर्तन र पानीजन्य प्रकोपबाट जोगिनका लागि पूर्वतयारी एवम् प्रतिरोधी क्षमताको विकास गर्नुपर्ने र त्यसमा सम्वद्ध निकायको साझा प्रयत्नको आवश्यकता औंल्याए ।

मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु र पानी–प्रेरित प्रकोपहरूः जोखिम देखि लचिलोपन सम्म’ विषयक कार्याशालामा मन्त्री बस्नेतले नगरेको गल्तीको सजाए नेपालले पाएको उल्लेख गर्दै उचित क्षतिपूर्ति पाउनै पर्नेमा जोड दिए ।

कार्यशालामा उनले मेलम्ची नदी र आपपासका क्षेत्रमा देखिएको विपदजन्य प्रकोप ,मुस्ताङमा बेमौसमा गएको बाढी तथा गत असारमा काबेली नदी करिडोरमा देखिएको विपत्ती जलवायु परिवर्तनकै असरको स्वरुप भएको बताए ।

उनले विपत्तीबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी, संरचनागत एवम् पूर्वतयारीको कामलाई एकैसाथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि तीनै तहका सरकार, सरोकारवाला निकाय र अन्तर्राष्ट्रिय समु्दायको महत्वपूर्ण भूमिका रहनुपर्ने धारणा राखे ।

साथै उनले नेपाललाई जलवायु कोषलगायतबाट राहत तथा अनुदान उपलब्ध गराउनमा अन्तर्राष्ट्रिय निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले जलवायु सम्बन्धी गरियका कार्यक्रमबाट प्राप्त हुने सुझाव र निष्कर्षले आगामी दिनमा नीति निर्माणका लागि सहजता हुने धारणा राखे । मंगलबारदेखि काठमाडौंमा सुरु भएको कार्यशाला चारदिनसम्म चल्नेछ ।

उक्त कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिलगायतको सहभागीता रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ४० बजे