मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेसुङ्गाको पर्यटन विकास गर्न सरकारले सघाउने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘जाउँ हिंड रेसुङ्गा’ कार्यक्रमलाई सम्बोधन उनले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए ।

उनले भने,‘यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धामसमेत हो । यहाँ रहेका रेसुङ्गा यज्ञस्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकैपटक अवलोकन गर्न सकिन्छ, त्यसैले यस क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो ।’

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए । उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ४ : १६ बजे