काठमाडौँ– नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने निर्णय लिएको हो। बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए।
‘रविजीलगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो। त्यसका लागि सत्तापक्ष तयार भएको छैन,’ महतले भने, ‘छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन।’
मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरुलाई स्वीकार्य नहुने उनले बताए।सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए।